टीकाको अघिल्लो दिन जब छोराको शव आयो...
तनहुँ | असोज २६, २०८१
सांकेतिक तस्वीर
तनहुँ: तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुग्नुभएको थियो । एक वर्षअघि त्यहाँ पुग्नुभएका पन्थले १० महिने कोर्ष पूरा गरिसक्नुभएको थियो । आठ महिनापछि उहाँ पाइलट बन्दै हुनुहुन्थ्यो ।
छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताउनुभयो ।
यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उहाँको मृत्यु भएको जनाइएको छ ।
कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भन्नुभयो, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।”
छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताउनुभयो । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्”, उहाँले भन्नुभयो ।
ढोरपाटनः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...

